पर्यटन क्षेत्र र हवाई सेवा: नेवानि कमजोर हुँदा लाभ विदेशी कम्पनीलाई

    article cover image

    र

    रोशन भट्ट

    १६ असार २०८१, सोमबार

    कुनै पनि मुलुकको आर्थिक विकासका लागि पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको हुन्छ । कतिपय देशको अर्थतन्त्र नै पूरै पर्यटनमा निर्भर रहेको समेत पाइन्छ । पर्यटन विदेशी मुद्रा आर्जनको मुख्य माध्यम हो । पर्यटकलाई दिइने सेवाका कारण मुलुकभित्र रोजगारी सृजना हुनुका साथै आयको वितरणमा समेत मद्दत पुर्‍याउँछ । पर्यटन विकासले मुलुकको पूर्वाधार विकासमा समेत सहयोग गर्छ । नेपालजस्तो औद्योगिक विकासको सम्भावना न्यून भएको तथा प्राकृतिक र सांस्कृतिक विविधता भएको मुलुकका लागि त पर्यटन झनै महत्त्वपूर्ण हुन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान यति नै छ भन्ने स्पष्ट तथ्यांक त पाइँदैन तर ३ देखि ७ प्रतिशतसम्म योगदान रहेको तथ्य स्वदेशी तथा विदेशी विश्लेषक र अर्थतन्त्रसँग सम्बद्ध संस्थाहरूले दिने गरेका छन् । नेपालको अर्थतन्त्रको विस्तारका लागि पर्यटन निकै ठूलो सहयोगी हुने भए पनि त्यसका पर्याप्त विकास हुन सकेको छैन । यसमा विभिन्न कारण रहेका छन् । स्थानीयको माग र राजनीतिक नेतृत्वको दबाबमा बनेका विमानस्थल अहिले बोझ बनेका छन् । अन्तरराष्ट्रिय होस् वा आन्तरिक उडानका लागि बनेका विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन पर्यटकको आगमन बढ्नुपर्छ ।  नेपालले पर्यटन पूर्वाधार निर्माणमा ठूलो लगानी गर्न सकेको छैन भने प्रचारप्रसारको सही रणनीति लिन सकेको छैन । यसका लागि खर्च पनि गर्न सकेको छैन । तैपनि नेपाल आएका विदेशीहरूले गरिदिएको प्रचार र सानातिना प्रवर्द्धनात्मक कार्यक्रमबाटै पनि नेपाल पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहेको छ । तर, नेपाल आउन चाहने पर्यटकलाई यहाँ ल्याउन सकिएको छैन । यसको मुख्य कारण नै नेपालको वायुसेवा कमजोर हुनु हो । नेपाल वायुसेवा निगमलाई विस्तार नगरी पर्यटनको विकास र त्यसबाट अपेक्षित लाभ लिन सकिँदैन भन्ने कुरामा कुनै विवाद छैन । अहिले नेपाल आउने पर्यटकको ठूलो अंशको लाभ विदेशी वायुसेवाले लिइरहेका छन् । नेपाल आउने पर्यटकको ठूलो अंश आकाशमार्गले ओगटेको छ ।  भारतीय पर्यटक भने सडकमार्गबाट पनि ठूलो संख्यामा नेपाल आएको देखिन्छ जसको आधिकारिक तथ्यांक पाउन सकिँदैन । भारत र चीनबाट तेस्रो मुलुकका पर्यटक सडकमार्ग प्रयोग गरेर आएको पनि पाइन्छ जसको अंश ज्यादै कम छ । त्यसैले नेपालको पर्यटकको मुख्य आधार भनेको वायुसेवा नै हो । वायुसेवा भन्नेबित्तिकै विमानस्थल, त्यसको व्यवस्थापन, वायुसेवाको उडान अनुमति दिने सिभिल एभिएशन अर्थात् नागरिक उड्डयनको नाम जोडिन्छ । विश्वमा प्रचलित अभ्यासअनुसार नागरिक उड्डयन पनि नियामक निकाय र सेवाप्रदायक निकाय फरकफरक हुन्छन् । नेपालमा पनि त्यस्तै अभ्यास गर्न यससम्बन्धी अन्तरराष्ट्रिय संस्था आइकाओलगायतले नेपाललाई दबाब दिइरहेका छन् । त्यसअनुसार कानून बने पनि कार्यान्वयनको चरणमा भने नगएको अवस्था छ ।  पर्यटनको आधार नेपालमा पर्यटनलाई उद्योगसरह मान्ने गरिएको छैन । यसलाई व्यवसाय भन्ने गरिएको छ । तर, विश्वव्यापी रूपमा भने यो सेवामूलक उद्योग हो । सांस्कृतिक पर्यटन, साहसिक खेल पर्यटन, प्राकृतिक पर्यटन, सभासम्मेलन पर्यटन, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन आदि यसका अनेक विधा छन् । नेपालमा पर्यटन भन्नाले सांस्कृतिक र प्राकृतिक पर्यटन नै प्रमुख रूपमा बुझ्ने गरिएको छ र नेपालका सबैजसो पर्यटन प्याकेजमा यी विधा नै परेका पाइन्छन् । मानिस नयाँ अनुभव गर्न, रमाइलो गर्न र नयाँ ताजगी अनुभव गर्न एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । तिनलाई सेवा दिएर यो  उद्योग चलेको छ ।  पर्यटनका विभिन्न आधारमध्ये हवाई सेवा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा जान छिटो र भरपर्दो साधन बनेको छ, वायुसेवा । आधुनिक विश्वमा उड्डयन सेवा एउटा ठूलो उद्योग बनेको छ जसको सम्बन्ध पर्यटनसँग रहेको छ । उड्डयन क्षेत्र आवातजावतको साधन हो । सडक, जलमार्गजस्ता यातायातका साधन भए पनि उड्डयन सेवा पर्यटनका लागि सबैभन्दा आधारभूत पक्ष मानिन्छ । नेपालजस्तो समुद्र नछोएको भूपरिवेष्टित मुलुकका लागि त यो अनिवार्य नै हुन्छ । नेपाल आउने भारतीय पर्यटकबाहेकका झन्डै शतप्रतिशत पर्यटक हवाई मार्गबाट नेपाल आउँछन् । त्यसैले नेपालको पर्यटन भनेको नागरिक उड्डयनमा आधारित हो भन्न सकिन्छ ।  पर्यटन र वायुसेवा वायुसेवा अत्यन्त महत्त्वपूर्ण र विशेष गतिविधि हो जसले व्यक्तिहरूलाई अन्तरराष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, र सांस्कृतिक सीमालाई जोड्छ । वायुसेवाभित्र विमानस्थल र उडान कम्पनीहरू पर्छन् । उड्डयन उद्योग व्यापार, परिवहन र अन्य क्षेत्रमा लगानीका लागि पनि माध्यम हो जसले नयाँ रोजगारीको सृजना, उत्पादन र आर्थिक वृद्धि गराउँछ । त्यस्तै नागरिक उड्डयनले विभिन्न देश र समुदायहरूलाई जोड्छ ।  सडक, जलमार्गजस्ता यातायातका साधन भए पनि वायुसेवा पर्यटनका लागि सबैभन्दा आधारभूत पक्ष मानिन्छ । नेपालजस्तो समुद्र नछोएको भूपरिवेष्टित मुलुकका लागि त यो अनिवार्य नै हुन्छ । नेपाल आउने भारतीय पर्यटकबाहेकका झन्डै शतप्रतिशत पर्यटक हवाई मार्गबाट नेपाल आउँछन् । नेपालले सन् १९९२ पछि नागरिक उड्डयनका क्षेत्रमा निजीक्षेत्रको लगानी खुला गर्‍यो । उदारीकरणको नीति शुरू भएपछि नेपालमा थुप्रै निजी कम्पनीहरू स्थापना भए । नेकोन एयर, एभरेष्ट एयर, नेपाल एयरवेजलगायत स्थापना भएसँगै नेपालमा विदेशबाट ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउन थाले । सन् १९८० देखि १९९० को अवधिमा नेपाल वायुसेवा निगमले नेपालका ३८ ओटा स्थानमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको थियो । त्यतिबेला नेपाल वायुसेवा निगमका सानाठूला गरी १९ ओटा जहाज थिए । निजी कम्पनीहरू हवाई क्षेत्रमा आइसकेपश्चात् भने नेपाल एयरलायन्सको अवस्था कमजोर बन्न पुग्यो भने निजी कम्पनीहरूको अवस्था बलियो बन्दै गयो । नेपाल वायुसेवा निगमको आन्तरिक र बाह्य उडानको अवस्था कमजोर बन्दै गएको छ । निगम भ्रष्टाचारको अखडा बन्दै गएको छ । त्रिभुवन विमानस्थलमा विमानको चाप बढे पनि निगमको हात खालीजस्तै छ । नेपाल एयरलायन्समा हाल अन्तरराष्ट्रिय उडान गर्ने वाइड बडी दुईओटा, न्यारो बडी दुईओटा र बोइङ–७५७ एउटा गरी पाँचओटा जहाज छन् । यी जहाजले पनि पर्याप्त मात्रामा उडान गर्न सकेका छैनन् । विगतमा निगमले यूरोपमा उडान गथ्र्यो र त्यहाँबाट गुणस्तरीय पर्यटक ल्याउँथ्यो तर अहिले जापानबाहेक अन्य पर्यटक बजारमा नेपाल वायुसेवा पुग्न सकेको छैन । त्यसैले जति पर्यटक आएका छन् त्यसका फाइदा विदेशी वायुसेवा कम्पनीले लिइरहेका छन् ।  नेवानि कमजोर हुँदा  नेपालमा अहिले जहाजहरूको संख्या धेरै छैन तर उपलब्ध भएकै जहाजको पनि सही व्यवस्थापन हुन सकेको छैन । निगम अहिले पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा कमजोर नै छ । अन्तरराष्ट्रिय उडानमा बिस्तारै सुधार आउन थाले पनि त्यो पर्याप्त छैन । अहिले उसले थप विमान भाडामा लिन पहल थालेको छ जसले पक्कै पनि बढी पर्यटक ल्याउन मद्दत गर्छ । नेपालमा अब हवाई क्षेत्रलाई बलियो नबनाएसम्म नेपालमा ठूलो मात्रामा विदेशी पर्यटक भित्त्याउन सकिँदैन । त्यसैले निगमलाई थप सुधार गर्नुपर्ने आवश्यकता छ ।  अझै पनि नेपालमा नेपाल वायुसेवा निगम मातहत हवाई जहाजको संख्या थप, हवाई रूट विस्तारलगायत काम यथाशीघ्र गर्नुपर्नेछ । त्यसैले निगम जति बलियो हुन्छ जति यसको सेवा विभिन्न देशमा विस्तार हुन्छ त्यति नै पर्यटनले फड्को मार्छ । निगमले यूरोपका प्रमुख शहरहरूमा पर्याप्त सेवा दिने हो भने धनाढ्य पर्यटकको आगमन बढ्छ । नेपालको आफ्नो उडान नहुँदा एकातिर हवाई यात्रा महँगो छ भने अर्कातिर बढी समय लाग्ने गरेको छ । यसले बढी समय विमानमै बिताउनुपर्ने हुन्छ र झन्झट पनि हुन्छ । त्यसैले पर्यटक बढाउन सीधा उडान जरुरी हुन्छ ।  विमानस्थलका अप्ठ्यारा  अहिलेसम्म नेपालमा तीनओटा क्षेत्रमा अन्तरराष्ट्रिय विमानस्थल बनिसकेका छन् । तर, पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल भूराजनीतिको शिकार बनेको छ । भारतले नयाँ हवाई रूट नदिएसम्म यी दुवै विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नियमित हुन सक्ने देखिँदैन । विमानस्थल बनाउँदा बजारको अध्ययन नगरी स्थानीयको माग र हचुवाका भरमा यी विमानस्थल बनेका देखिन्छन् । व्यावसायिक दृष्टिले यी दुवै विमानस्थल असफल मान्नुपर्ने हुन्छ । त्यसैले अन्तरराष्ट्रिय उडानका लागि निजगढ अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य देखिएको छ । ३० लाख पर्यटकको कुरा गरिरहँदा निजगढ विमानस्थल अनिवार्य देखिएको हो । पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन हुन सकेको भए त्रिभुवन विमानस्थलमा केही सहज हुन्थ्यो । तर, त्यसो हुने छाँटकाँट कमै देखिएको छ । विमानस्थल निर्माणमा नेपालले व्यावसायिक पक्षको अध्ययन नगरेको देखिन्छ । महँगो पूर्वाधार एकातिर खेर गइरहेको छ भने अर्को त्यस्तै पूर्वाधार बनाउनुपर्ने अवस्था पनि देखिएको छ । त्यही भएर निजगढ विमानस्थल किन बनाउनुपर्‍यो भन्ने प्रश्न पनि उठेको छ । दुई विमानस्थलको अवस्था हेर्दा प्रश्न स्वाभाविक हो ।  नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन, सहज यातायात एवं व्यावसायिक गतिविधिलगायतका लागि हवाई क्षेत्रको विकास अनिवार्य छ । अहिलेका पूर्वाधारलाई बलियो बनाउँदै हामीले हाम्रा गतिविधि अघि बढाउनु जरुरी छ । राम्रो तवरले हवाई जहाज सञ्चालन गर्ने हो भने अबको ६/७ वर्षमा नै ३०/४० लाखभन्दा बढी पर्यटक नेपालमा भित्त्याउन सकिन्छ ।  मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ ओटा सञ्चालनमा छन् भने १७ ओटा बन्द रहेका छन् । ६ ओटा निर्माणाधीन छन् । काठमाडौंसहित २६ ओटा विमानस्थल कलोपत्रे गरिएका छन् । काठमाडौंपछि पोखरा विमानस्थल सुविधा सम्पन्न मानिन्छ । मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षात्को समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । आर्थिक हिसाबले आन्तरिक विमानस्थल सबैजसो घाटामा छन् । करोडौं खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरूपमा सञ्चालन नहुँदा थप घाटा भएको छ । रारा, मुगु, डोल्पा, सिमिकोट आदि विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा छैनन् । स्थानीयको माग र राजनीतिक नेतृत्वको दबाबमा बनेका विमानस्थलहरू अहिले बोझ बनेका छन् । अन्तरराष्ट्रिय होस् वा आन्तरिक उडानका लागि बनेका विमानस्थल तिनीहरू पूर्ण क्षमतामा सञ्चालन हुन पर्यटकको आगमन बढ्नुपर्छ ।  हवाई सम्झौता कुनै पनि मुलुकमा हवाई उडानका लागि त्यसदेशसँग सम्झौता गर्नु आवश्यक हुन्छ । नियमित सेवा नहुने मुलुकसँगसमेत सम्झौता गर्नुपर्छ । नेपालले हालसम्म विश्वका ४२ देशसँग उडान सम्झौता गरेको छ । उडान सम्झौता भएका उक्त देशमा विनारोकतोक नेपाली वायुसेवा कम्पनीहरूले उडान भर्न पाउँछन् । तर, अहिले नेपाली जहाजले ११ देशमा मात्र उडान भर्ने गरेका छन् भने बाँकी देशमा उडान गर्न सकेका छैनन् । सन् १९९५ देखि २०२२ सम्म एकल र बहुउडान गर्ने गरी सम्झौता गरिएको छ । तर, सम्झौता भए पनि नेपाली वायुसेवा कम्पनीहरू कमजोर बन्दै गएका छन्, ती देशमा उडान गर्न सकेका वा पाएका छैनन् । यसमा नेपालको पहल नपुगेको देखिन्छ । विशेषगरी समयानुकूल व्यवस्थापनलाई चुस्त बनाउन नसक्दा राष्ट्रिय ध्वजावाहक जहाजले सम्झौता गरेका देशको आकाशसम्म उडान भर्न सकेका छैनन् । लामो दूरीमा उडान भर्ने क्षमताको विमान अभाव त छँदै छ, विदेशी राष्ट्रले समेत उडान अनुमति नदिँदा उडान भर्न समस्या हुँदै आएको छ । नेपालजस्ते हिमाली र पहाडी मुलुकमा विदेशी पर्यटकलाई भित्त्याउन नागरिक उड्डयनको भूमिका निकै बढी हुन्छ । हवाई सेवाको विकास र विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण, मर्मत र सञ्चालनको काम गर्छ । पर्यटन–उद्योग नै देश विकासको मेरूदण्ड हो र पर्यटन–उद्योगको विकास हवाई सेवामा नै निर्भर रहेको छ । यसका लागि नेपाल वायुसेवा निगम र निजीक्षेत्रका वायुसेवा कम्पनीको विकास जरुरी छ । विश्व पर्यटनको इतिहास र वर्तमान हेर्दा हवाई सेवाविनाको पर्यटन कल्पना गर्न सकिँदैन । हवाई सेवा स्वयं पर्यटन व्यवसायको एक अंग हो । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि त यसको झनै महत्त्व छ । बाह्य पर्यटनका लागि यो अभिन्न अंग हो । तर, नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल निकै सानो भएकाले यसको विकल्प अनिवार्य भइसकेको छ । गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रीय स्तरका हुन् जहाँ ठूलो विमान उडान र अवतरण गर्न कठिन छ । निजगढ विमानस्थलको चर्चा निकै चले पनि र निकै विवाद भए पनि अझै यसको सुनिश्चितता हुन सकेको छैन । अहिलेकै गतिमा पर्यटक संख्या बढ्दै जाने हो भने पनि त्रिभुवन विमानस्थल अपर्याप्त हुन थालिसकेको छ । आइकाओले नेपालको आकाश सुरक्षित रहेको मानिसक्दा पनि यूरोपेली संघले कालोसूचीमा राखिरहेको छ । यसले गर्दा नेपाल वायुसेवा निगमले यूरोपमा उडान गर्न पाएको छैन । सिंगापुर, हङकङ, दोहा आदि देश भएर मात्रै यूरोप जानआउन सकिन्छ । ट्रान्जिटमा समय बिताउनुपर्दा पर्यटकको समय खेर जान्छ । यही कारण नेपालमा यूरोपबाट पर्यटक आउन चाहेर पनि आउन समस्या भइरहेको छ । यूरोपमा सीधा उडान हुने हो भने भाडा पनि कम पर्छ र समय पनि बचत हुन्छ । त्यसैले नेपालले धेरैभन्दा धेरै देशबाट प्रत्यक्ष उडानका लागि प्राथमिकता दिनुपर्छ ।  लेखक पर्यटन व्यवसायी हुन् ।

    © 2024 All rights reserved.

    Designed and Developed by:

    Roshan

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    २ असार २०८२, सोमबार

    युनिकोड

    ई-पेपर

    EN

    • फोटो फिचर
    • खेलकुद
    • अर्थतन्त्र

    सम्बन्धित

    news thumbnail image

    मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर संस्थापकले किनेनन्

    news thumbnail image

    नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षसहित पाँच जनालाई काममा रोक

    news thumbnail image

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल