५ कार्तिक २०८१, सोमबार

युनिकोड

ई-पेपर

EN

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षसहित पाँच जनालाई काममा रोक

रोशन भट्ट

१६ असार २०८१, सोमबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित निगमका पाँच जनालाई काम गर्न रोक लगाएको छ ।  नेपाल एयरलाइन्सको ए–३३०, कलसाइन एन–एएलवाई भएको वाइडबडी जहाज सी–चेक (विस्तृत मर्मतसम्भार तथा जहाजको सबै कुराको चेकजाँच)का लागि निगमले प्राधिकरणको स्वीकृति नै नलिई इजाजत नभएको इटालीमा पठाएको भन्दै प्राधिकरणले उनीहरूलाई काममा रोक लगाएको हो ।  प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीलाई अकाउन्टेबल म्यानेजरको कार्य गर्न रोक लगाउँदै मंगलवार पत्र काटेको छ । सोही दिन नेपाल एयरलाइन्सका क्याप्टेनहरू क्रमश: दिपुराज ज्वारचन, महेश्वरमान डंगोल र रमन घिमिरेलाई पनि कारबाहीको पत्र काटेको छ । प्राधिकरणले नेपाल एयरलाइन्सका क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई पनि काम गर्न रोक लगाएको छ ।  प्राधिकरणले नेपाल एयरलाइन्सका क्यापटेन डंगोल र घिमिरेको ‘वायुयान चालक अनुमति पत्रको लाइसेन्स प्रिभिलेज’मा रोक लगाइदिएको छ । यस्तै नेपाल एयरलाइन्सका क्याप्टेन ज्वारचनलाई अपरेशन डाइरेक्टरका रूपमा काम नगर्न भन्दै पत्र काटेको छ । प्राधिकरणले यस्तो पत्र काटेपछि उनीहरूले प्राधिकरणले नै फुकुवा नगरेसम्म ती जिम्मेवारीमा रहेर काम गर्न पाउने छैनन् ।  नेपाल एयरलाइन्सको उक्त वाइडबडी जहाज सी–चेक गर्न इटाली पठाउने विषयमा प्राधिकरणबाट इजाजतप्राप्त नगरेको प्राधिकरणले जानकारी दिएको छ । नेपाल एयरलाइन्सको उक्त जहाज असार ८ गते शनिवार सेड्युल फ्लाइटमा दुबई गएको थियो ।  ‘त्यहीँबाट असार ९ गते आइतवार उक्त वायुयान प्राधिकरणबाट स्वीकृति प्राप्त नगरी इटालीमा उडान गरी हाल उक्त वायुयान प्राधिकरणले स्वीकृति नदिएको स्थानमा र विनारेखदेखको अवस्थामा रहेको देखिन्छ,’ प्राधिकरणले अधिकारीलाई काटेको पत्रमा उल्लेख गरिएको छ, ‘...प्राधिकरणबाट दुबईबाट इटालीसम्म वायुयान उडानको लागि अनुमतिसमेत नदिई युरोपियन युनियन (ईयू) अन्तर्गतको इटालीमा पठाई तपाइले (अधिकारी)प्राधिकरण ऐन, २०५३ को दफा ३१ अनुसार प्राधिकरणबाट जारी भएको आदेश तथा निर्देशन पालना नगरेकाले गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिँदा निगमको अकाउन्टेबल म्यानेजर पदको कार्य गर्न रोक लगाइएको छ ।’  प्राधिकरणको कारबाहीको सम्बन्धमा धारणा लिन निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । निगम प्रवक्ता रमेश पौडेलले प्राधिकरणको कारबाहीका सम्बन्धमा औपचारिक रूपमा निगमलाई पत्र प्राप्त भइनसकेको भन्दै प्रतिक्रिया दिन चाहेनन् । यद्यपि उनले आइतवार वाइडबडी सी–चेकका लागि इटाली गएको भने पुष्टि गरे ।  प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले नेपाल एयरलाइन्सले हवाई तथा उड्डयन क्षेत्रको सुरक्षाका विषयमा तोकिएका नियम पालना नगरेको देखिएको बताए । विस्तृत मर्मतसम्भार (सी–चेक) वायुयानले समयसमयमा गरिरहनुपर्छ । ‘निगमको उक्त जहाजको आवधिक सी–चेक गर्नुपर्ने दिन आउँदै थियो,’ पाण्डेले भने, ‘निगमलाई सी–चेकको अवधि सकिँदै छ भन्ने जानकारी थियो । निगमले प्राधिकरणलाई २ महीनाअघि नै यस विषयमा जानकारी दिनुपथ्र्याे, तर सी–चेकको अवधि सकिन ३/४ दिन बाँकी हुँदा यूरोप (इटाली) गएर मर्मतसम्भारको ह्यांगरमा राखेको खबर प्राप्त भएको हो ।’ सी–चेकका लागि जान्छु भन्ने निवेदन दिनु र इटली गएर मर्मतसम्भारको ह्यांगरमा जहाज हुनु एकै समय भएको हुँदा प्राधिकरण द्विविधामा परेको र त्यसअनुसार सोधखोज भएको उनले जानकारी दिए । पूर्वसूचना र अनुमति नलिई गएको हुँदा प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको हो ।

© 2024 All rights reserved.

Designed and Developed by:

Roshan